बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा डोटीलाई ७७ रनले पराजित गर्दै बैतडीले लगातार दोश्रो जित दर्ता गरेको हो । यसअघि मंगलबार बैतडीले अछामलाई ९० रनले पराजित गरेको थियो ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १९.२ ओभरमा १४१ रन बनाएको थियो । जसमा कप्तान रीतु कनौजियाले २४ र संगीता मौनीले अविजित १८ रनको योगदान गरिन् । डोटीकी दिवेश्वरी ठकुल्लाले ४ र हिसिला खड्काले २ विकेट हात पारिन् । उक्त खेलमा प्लेयर अफ द वुम्यान डोटीकी दिवेश्वरी ठकुल्ला चुनिइन् ।
१४२ रनको लक्ष्य पछ्याएको डोटीले १९.१ ओभरमा ६४ रनमात्रै बनाउन सफल भयो । उसका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैतडीकी करिश्मा थापाले ३, कप्तान रीतु कनौजियाले २ विकेट हात पारिन् ।
प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।
प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।