Sagun Khabar
बैतडीमा मासिदै देवदारको जंगल 

बैतडी –बैतडीका केही ठाउँमा पाइने देवदारको जंगल संकटमा परेको छ । संरक्षणको अभावमा देवदारका रुखहरु मासिदै गएका स्थानीयहरुले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं र सुर्नया गाउँपालिका ३ वासुलिङ्ग मन्दिरको आसपासमा देवदारको जंगल रहेको छ । 

पहिला पहिला देवदारको घना जंगल भएपनि पछिल्लो समयमा मासिदै गएको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । देहीमाण्डौंमा पहिलादेखि नै देवदारको जंगल रहेको भएपनि पछिल्लो समयमा संरक्षणको अभावमा मासिदै गएको उनले बताए । देहीमाण्डौंस्थित देवदारको जंगललाई धार्मिक वनको रुपमा लिने गरेको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

देहीमाण्डौंमा रहेको देवदारको जंगल संरक्षणको अभावमा मासिदै गएको स्थानीय धनबहादुर क्षेत्री (जगदीश)ले बताए । देवदारको जंगल संरक्षणका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । उनले भने ‘यो जंगल हाम्रो धार्मिक आस्थासंग जोडिएको छ । त्यसैले पनि यसलाई संरक्षण गर्नु आवश्यक छ ।’

देवदारको जंगल संरक्षणका लागि स्थानीयहरु पनि सक्रिय हुनुपर्ने देखिएको छ । चरिचरनका कारण देवदारका नयाँ बोटहरु हुर्कन नपाउने स्थिती सिर्जना भएको स्थानीय प्रकाश बोहराले बताए । यसका लागि जंगल क्षेत्रलाई जोगाउन तारबार लगाउनु आवश्यक रहेको उनले औंल्याए । 

यस्तै सुर्नया गाउँपालिका ३ स्थित बासुलिङ्ग मन्दिर आसपासमा रहेको देवदारको जंगल पनि मासिदै गएको स्थानीय केशव भट्टले बताए । यसको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए । 

देवदार हिमाली क्षेत्रमा पाइने वनस्पती भएकाले बैतडीमा त्यति धेरै नभएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । बैतडीमा भएका देवदारको जंगलबाट अन्त कतैबाट ल्याएर रोपेको हुन सक्ने उनले बताए । उनले भने ‘यो वनस्पती हिमाली क्षेत्रमा हुने वनस्पती हो । बैतडीका केही ठाउँमा पनि देवदारको जंगल रहेको छ ।’

हिउँ पर्ने ठाउँमा देवदारको जंगल राम्रो हुने कँडेलले बताए । देवदार नेपालको पश्चिमी क्षेत्रमा पाइने वनस्पती हो । यो विभिन्न औषधीय गुण भएको विरुवा भने यसबाट विभिन्न कस्मेटिक सामग्री समेत उत्पादन गर्न सकिने बताइएको छ । 

यसलाई धार्मिक रुपमा समेत शुद्ध वनस्पतीको रुपमा लिने गरिएको छ । बैतडीका शक्तिपीठ र मन्दिर नजिक मात्रै देवदारका जंगल भएकाले यसलाई धार्मिक आस्थासंग जोड्ने गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update