Sagun Khabar
बैतडीका ४ स्थानीय तहसंग छैन् विपद् व्यवस्थापन योजना

बैतडी-बैतडीका कतिपय स्थानीय तहहरुले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएको ४ बर्ष पूरा भईसक्दा समेत तहहरुले योजना बनाउन नसकेका हुन् । नागरिकको जीवनसंग प्रत्यक्ष जोडिएको विपद् व्यवस्थापन योजना नहुँदा विपद्बाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ती पाउन समस्या हुने गरेको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन योजना बनाउनुपर्ने उल्लेख गरेको भएपनि बैतडीका केही स्थानीय तहहरुले अझै योजना बनाएका छैनन् । योजना बनाएका स्थानीय तहहरुले पनि योजनाहरु अद्यावधिक नगरेको पाइएको छ । ‘स्थानीय तहमा विपद् व्यवस्थापन योजना नहुँदा हरेक बर्ष समस्या हुने गरेको छ । स्थानीय तहले यो कामलाई प्राथमिकतामा राख्नुपर्दछ ।’नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले भने, ‘विपद् व्यवस्थापन योजना नभएकै कारण विपद्बाट हुने क्षति न्यूनीकरण गर्न समस्या हुने गरेको छ ।’

Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिका बाहेकका स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना निर्माणमा त्यति ध्यान दिन सकेका छैनन् । जिल्लाको सुर्नया गाउँपालिका, सिगास गाउँपालिका पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाले अझै योजना बनाउन सकेका छैनन् । 

सुर्नया गाउँपालिकाले अबको गाउँसभाबाट योजना पारित गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले बताए । उनले भने ‘हामीले योजनालाई अन्तिम रुप दिईरहेका छौं । अबको गाउँसभाबाट योजना पारित गर्ने तयारी गरेका छौं ।’

शिवनाथ गाउँपालिकाले विभिन्न कार्यविधि बनाएर विपद् प्रभावित नागरिकलाई राहत दिने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद पन्तले बताए । उनले भने ‘योजना बनेको छैन् । तर हामीले कार्यविधि बनाएर समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आईरहेका छौं ।’

जिल्लाको सिगास गाउँपालिकाले पनि विपद् व्यवस्थापन योजना बनाउन सकेको छैन् । अहिले सम्म गाउँपालिकामा विपद् व्यवस्थापन योजना नबनेको प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए । 

यस्तै पाटन नगरपालिकाले पनि विपद् व्यवस्थापन योजना अहिले सम्म नबनाएको निमित्त प्रमुख प्रशासकीय अधिृकत राजेन्द्र भट्टले जानकारी दिए । विपद् व्यवस्थापन योजना बनाएका डिलाशैनी गाउँपालिका, पुर्चौंडी नगरपालिका,पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकाले पनि योजना अद्यावधिक गरेका छैनन् । 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update