Sagun Khabar
डडेल्धुराको परशुराम धाममा देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो 

डडेल्धुरा –डडेल्धुराको परशुराम धाममा देशभरका स्थानीय तहका प्रमुखहरुलाई निम्तो दिइएको छ । माघे संक्रन्तिको अवसरमा परशुराम धाममा लाग्ने मेलामा सहभागिताका लागि देशभरका स्थानीय प्रमुखहरुलाई निम्तो पठाइएको हो । 

परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले माघे संक्रान्तिको दिन लाग्ने मेलामा सहभागिताका लागि देशभरका स्थानीय तहका प्रमुखलाई पत्र पठाएका हुन् । ७५३ ओटै स्थानीय तहका प्रमुखहरुलाई मेलामा सहभागिताका लागि पत्र पठाएको उनले बताएका छन् । 

Atrya hospital

मकर संक्रान्ति पर्वमा परशुराम नगरपालिका वडा नं. ५ महाकाली नदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

स्थानीय तहका प्रमुखहरुलाई पत्र पठाउँदै नगर प्रमुख जोशीले सबैलाई सहभागिताका लागि आग्रह गरेका हुन् । परशुराम धाममा लाग्ने मेलामा सहभागी भइ यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान पुर्याउन नगरपालिकाका तर्फबाट आमन्त्रण गरिएको पत्रमा उल्लेख गरिएको छ । 

नेपाल भारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित परशुराम धाममा भृगुवंशी महर्षि जमदग्नी र रेणुका पुत्र भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख गरिएको छ । 

परशुरामधाममा स्नान गरेमा पुण्य प्राप्त हुने पनि पुराणमा उल्लेख गरिएको छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update