Sagun Khabar
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जम्मकट्टेल नियुक्त
Atrya hospital

मकवानुर – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । 

जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीसहित ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । एक सय १०  सदस्यीय प्रदेशसभा सदस्य रहेको बाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ । 

बाग्मतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमालेले पाएको छ । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update