Sagun Khabar
बैतडीमा व्यापारीहरुको एन्टीजेन परीक्षण सुरु 

बैतडी –बैतडीमा व्यापारीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण कार्य शुरु भएको छ । निषेधाज्ञा केही खुकुलो पारेर खाद्यान्न तथा तरकारी पसल, फेन्सी पसल, निर्माण सामग्रीका पसल, कपडा पसल सञ्चालन गर्न दिने निर्णय भएपछि व्यापारीहरुको एन्टीजेन परीक्षण गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

समुदायमा कोरोना फैलिन नदिन व्यापारीहरुको एन्टीजेन परीक्षणको शुरु भएको उनले बताए  । जिल्लाका मुख्य बजारहरुमा एन्टीजेन परीक्षणका लागि स्थानीय तहहरुले समन्वय गरिरहेका छन् । सबै स्थानीय तहमा एन्टीजेन कीट पठाईसकेको र आजबाटै एन्टीजेन परीक्षण कार्य शुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘हामीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि व्यापारीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण थालेका हौं ।’

Atrya hospital

स्थानीय तहमा रहेका मुख्य बजारका व्यापारीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्नका लागि पालिकाहरुले सम्बन्धित स्वास्थ्य संस्थाहरुसंग समन्वय गरिरहेका छन् । निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमण नफैलियोस भन्नका लागि एन्टीजेन परीक्षणको दायरा बढाएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘हामीले प्रत्येक स्थानीय तहमा एन्टीजेन किट पठाएका छौं । समुदायमा परीक्षण पनि चलिरहेको छ । मुख्य बजारका व्यापारीहरुको पनि परीक्षण गर्न भनेका छौं ।’

जिल्ला कोभीड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञामा केही खुकुलो गर्ने र व्यापारीहरुको एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको थियो । गएको वैशाख २० गतेदेखि जारी निषेधाज्ञाले कोरोना संक्रमणदर घटेको छ । अहिले जिल्लामा संक्रमितको संख्या दिनानुदिन घट्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । संक्रमणको जोखिम भने कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन भने उनले आग्रह गरे । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update