धनगढी- सुदूरपश्चिममा सभामुख चयन गर्ने काम अनिश्चित बनेको छ। आज बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक समेत स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्काे सूचना जारी नभएसम्म बैठक स्थगित भएको सूचना टाँस गरेको हो।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति (७) र राप्रपाका एक सांसदको समर्थन थियो। त्यस अनुसार उनले २९ मत पाउनुपर्ने थियो। उनको मतदानमा दुई सांसद अनुपस्थित र एक मत बदर भएको थियो।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र एमाले सांसद चक्र मल्ल मतदानमा सहभागी भएनन्। एक मत बदर भएको थियो। कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका मानबहादुर रावलले २३ मत पाएका थिए। उनलाई कांग्रेस (१८), एकीकृत समाजवादी (४) र स्वतन्त्र (एक) सांसदको समर्थन थियो। जेष्ठ सदस्यले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका थिए। तर अहिलेसम्म सभामुख चयनको प्रक्रिया भने अन्योलमै छ।