Sagun Khabar
बैतडीमा असार १५ गते सम्म निषेधाज्ञा थपियो 

बैतडी –बैतडीमा जारी निषेधाज्ञाको अवधि थपिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सोमबार आदेश जारी गर्दै जारी निषेधाज्ञा असार १५ गते सम्मका लागि थपेका हुन् । कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि थपिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘कोरोना भाईरसको जोखिम कायमै रहेको छ । हामीले केही खुकुलो गरेर निषेधाज्ञालाई जारी राखेका छौं ।’

गत वैशाख २०गतेदेखि शुरु भएको निषेधाज्ञाको अवधि चौथो पटक थप गरिएको हो । जिल्लामा अहिले कोरोना संक्रमणदरमा केही कमी आएकाले खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उनले भने ‘जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार असार १५ गते रात १२ बजे सम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । पहिलाको तुलनामा केही खुकुलो गरेर निषेधाज्ञा जारी गरेका छौं ।’

Atrya hospital

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा खाद्यान्न तथा तरकारीका पसल, कपडा पसल, निर्माण सामग्री पसल र फैन्सी पसल बिहान ७ बजेदेखि १२ बजे सम्म खोल्न सकिने जनाइएको छ । यस्तै बैंक तथा बित्तीय संस्थाहरुले प्रत्येक दिन दिउँसो १ बजे सम्म सेवा दिन सकिने उल्लेख गरिएको थियो । यसअघि बैंक तथा बित्तीय संस्थाहरु आलोपालो बिहान ७ देखि ९ बजे सम्म खुल्दै आएका थिए । 

यस्तै विकास निर्माणका कामहरु गर्न सम्बन्धित योजना प्रमुखले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने जनाएको छ । 

सार्वजनिक यातायात भने पहिला जस्तै पूर्ण रुपमा बन्द रहने जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरु गर्दा बढी १० जनाको सहभागितामा गनुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

कसैले आदेशको अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update