कैलाली –सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । सभामुख पदका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार रहेका छन् ।
पुस २८ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित भएका थिए भने एक मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । पुस ३० मा भएको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो । दुई पटक निर्वाचन हुँदा समेत सभामुख चयन गर्न नसकेकको प्रदेश सभामा आज फेरी निर्वाचन हुँदैछ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् । आजको चुनावबाट प्रदेश सभाले सभामुख पाउने अपेक्षा गरिएको छ ।