Sagun Khabar
लौठ सल्ला संरक्षण किन जरुरी छ ? 

बैतडी –बैतडीका केही स्थानमा मात्रै पाइने लौठ सल्ला संरक्षणमा चासो देखाउन थालिएको छ । वनस्पती अनुसन्धान केन्द्र कैलालीले लौठ सल्ला संरक्षणका लागि स्थानीय पालिका र डिभिजन वन कार्यालयसंग समन्वय गरिरहेको केन्द्रका प्रमुख गंगादत्त भट्टले बताए । 

औषधीय गुण भएको लौठ सल्ला लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि पहल शुरु गरिएको उनले बताए । लौठ सल्ला क्यान्सर रोगको औषधि निर्माणका लागि प्रयोग गरिने उनले बताए । बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को ढोल्यामोड क्षेत्र, पुर्चौंडी नगरपालिकाको केही क्षेत्र, सुर्नयाको रौलाकेदार मन्दिर क्षेत्र र श्रीभावर क्षेत्रमा लौठ सल्ला रहेको भट्टले बताए । उनले भने ‘लौठ सल्लाको औषधिय गुणको बारेमा सबैलाई जानकारी नहुँदा यसको संरक्षण हुन सकेको छैन् । लौठ सल्लाका रुखहरु मासिदै गएका छन् ।’

Atrya hospital

लौठ सल्लाको अलगै जंगल नभएपनि यो अन्य प्रजातिका विरुवाहरुसंग हुर्कन गरेको वनस्पती अनुसन्धान केन्द्रका प्रमुख भट्टले बताए । सामुदायिक वनमा भएका लौठ सल्ला संरक्षणका लागि केही पहल भएको भएपनि राष्ट्रिय वनमा रहेका लौठ सल्ला मासिदै गएका छन् । 

लौठ सल्लाको काठ मजबुत हुने भएकाले स्थानीयहरुले काठको लागि लौठ सल्लाको प्रयोग गर्दै आएका छन् । जंगलमा रहेका लौठ सल्लाको संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेकाले संरक्षणको अभियान सञ्चालन गर्नुपर्नेमा भट्टले जोड दिए । 

लौठ सल्ला संरक्षणका लागि डिभिजन वन कार्यालय बैतडीसंग पनि समन्वय भइरहेको भट्टले बताए । लौठ सल्लाको औषधिय गुणको बारेमा समुदायस्तरमा चेतना फैलाउन सके यसको संरक्षण गर्न सकिनेमा उनले जोड दिएका छन् । 

यसैबीच बैतडीमा पहिलो पटक लौठ सल्ला संरक्षणका बिषयमा स्थानीयहरुसंग छलफल भएको छ । वनस्पति अनुसन्धान केन्द्रले केही दिन पहिला स्थानीयहरुसंग छलफल गरेको हो । छलफलमा लौठ सल्लामा भएको औषधिय गुणको बिषयमा जानकारी दिइएको केन्द्र प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update