Sagun Khabar
बैतडीमा गण्न्नीगाड खोलाले जमीन कटान गर्दै 

बैतडी –मनसुन सुरु भएसंगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्याउन थालेको छ । सोमबारदेखि परेको पानीले खोलाहरुमा आएको बाढीले जमीन कटान गर्न थालेको हो । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा गण्न्नीगाड खोलाले जमीन कटान शुरु गरेको स्थानीय सन्तोष रानाले जानकारी दिए । बर्षा शुरु भएसंगै खोलाले डिलाशैनी गाउँपालिका वडा नं १ को नानरादेखि वडा नं २ गण्न्ना सम्म क्षति पुर्याउन थालेको उनले बताए । उनले भने ‘खोलामा आएको बाढीले जमीन कटान गर्न थालेको छ । गत बर्ष पनि यो खोलामा आएको बाढीले धेरै क्षति पुर्याएको थियो । अहिले पनि बर्षातको शुरुमै क्षति गर्न थालेको छ ।’

Atrya hospital

बर्षा शुरु भएसंगै खोलाले स्थानीयहरुको जमीन कटान गरेर घरहरु समेत जोखिममा परेका छन् । स्थानीय डम्मर रानाको घर नदी कटानको जोखिममा परेको छ भने दिलबहादुर राना,विरेन्द्र राना, सुवास राना, जोगा खत्री, हरमल जाग्री लगायतको घर र जमीन नदी कटानको जोखिममा परेको बताइएको छ । 

गण्न्नीगाड खोलामा आएको बाढीले घरखेत जोखिममा परेपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । खोला किनारमा तटबन्ध लगाउन माग गरेको भएपनि कसैले नसुनेको स्थानीयहरुको गुनासो रही आएको छ । 

बैतडीमा पहिरो र बाढीको प्रकोप बढी रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । जिल्ला प्रशासन कार्यालयले पनि हालै पारित गरेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मा नदी किनारका बस्तीमा बाढीको जोखिम रहेको देखाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update