काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्र सुधारका लागि उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको दाबी गरे । लगानीकर्तालाई सहज रूपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउने कुरामा सरकार गम्भीरतापूर्वक अघि बढीरहेको उनले बताए ।
उद्योगी, व्यापारीहरूले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महसुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरू सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिबद्धता जनाए ।
मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरूलाई प्रोत्साहित गर्ने र नीति कानुन फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरूलाई निर्यात गर्ने वस्तुहरूको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए ।