Sagun Khabar
भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम 

बैतडी –सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरुले बताएका छन् । पछिल्लो समयमा सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प जान थालेपछि भूकम्पको जोखिम रहेको बताइएको छ । 

गत कात्तिक २३ गते बिहान खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भयो भने ७ जना घाइते भएका थिए ।

Atrya hospital

यस्तै बाजुराको मौला आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले केही घरहरू भत्किए भने एकजनाको मृत्यु भएको थियो । 

पछिल्लो ५ सय बर्ष यता पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । उनले भने ‘सन् १५०५ पछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको छैन् । त्यसैले यो क्षेत्रमा जमीनमूनी शक्ति सञ्चित रहेको छ । त्यसैले यो क्षेत्रमा भूकम्पको जोखिम कायम रहेको छ ।’

पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जान सक्ने भएपनि कहिले जान्छ भन्ने कुरा भने यकिन भन्न नसकिने कार्यालय प्रमुख तामाङले बताए । उनले भने ‘यो क्षेत्रमा जमीनमुनि शक्ति सञ्चित छ । यो शक्ति बाहिर आउने भनेको भूकम्पका माध्यमबाट हो । तर कहिले आउँछ भन्ने यकिन हुँदैन् ।’

सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेपनि यहाँका अधिकांश भौतिक संरचना भने भूकम्प प्रतिरोधि नहुँदा विपद् निम्तिन सक्ने तामाङले बताए । भूकम्प प्रतिरोधी संरचना नहुँदा ठूलो भूकम्प गएको बेला विपद् निम्तिने उनले बताए । 

गएको मंगलबार बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पपछि ११५ भन्दा बढी पराकम्प गइसकेका भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प कुन समयमा जान्छ भन्ने कुरा निश्चित नभएकाले यसबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना आवश्यक रहेको तामाङले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update