काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदीले बगाएका सातजना मध्ये एक जनाको शव भेटिएको छ ।
गएराति नदीमा बाढी आएको बेला हराएका सात जना मध्ये एक पुरुषको शव भेटिएको र उनको पहिचान खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । यस्तै हेलम्बुमा रहेको प्रहरी चौकी पनि बगाएको छ ।
मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका झण्डै ५० घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । मेलम्चीमा रहेको बसपार्क आसपास रहेका होटल तथा पसलहरु सबै बगाइसकेको छ । मेलम्ची खोलामा बाढी आउन थालेपछि बजारबासीहरु गएराती नै सुरक्षित ठाउँमा गएका थिए । घरमा फसेका केही व्यक्तिलाई पनि नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लगिसकेको छ । मेलम्ची खोलामा बगिरहेको लेदो थुप्रिएर बजार थप जोखिममा परिरहेको छ ।
-उज्यालो अनलाइनबाट