Sagun Khabar
हिउँदे फलफूलका बिरुवा रोप्दा के–के कुरामा ध्यान दिनुपर्छ ? 

बैतडी –बैतडीजस्ता मध्यपहाडी जिल्लाहरुमा हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएको छ । स्याउ, नासपाती, ओखर, खुर्पानी,आरु, आरुबखडा, अनार लगायतका बिरुवा फागुन पहिलो सातासम्म रोप्न सकिने कृषि प्राविधिकहरुले बताएका छन् । 

पुस १५ देखि माघ १५ सम्म हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएपनि फागुन पहिलो साता सम्म समेत फलफूलका बिरुवा रोप्न सकिने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए । उनले भने ‘बैतडीजस्ता मध्यपहाडी जिल्लाहरुमा हिउँदे फलफूलका बिरुवा रोप्ने समय पुस १५ देखि माघ १५ सम्म हो । तर फागुन पहिलो सातासम्म पनि बिरुवा रोप्न सकिन्छ ।’

Atrya hospital

फलफूलका बिरुवा रोप्नुभन्दा पहिला एक महिना अगाडि खाल्डो तयार पार्नुपर्ने सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए । जुन ठाउँमा बिरुवा रोप्ने हो त्यो ठाउँको जमीन छनौट गरी खाल्डो तयार पार्नुपर्ने उनले बताए । १ घनमिटरको खाल्डोमा पाकेको प्रांगारिक मल राख्नुपर्ने उनले बताए । खाल्डो खन्दाखेरी बाहिरी सतहको माटो एक ठाउँमा राख्नुपर्ने र भित्री सतहको माटो एक ठाउँमा राख्नुपर्ने भाटले बताए । खाल्डोमा प्रांगारिक मल राखेपछि प्रति खाल्डो ५० ग्राम जति मालाथिन धुलो राख्नुपर्ने उनले बताए । जसले गर्दा बोटलाई असर पार्ने कीटाणुहरु नष्ट हुने गरेका छन् । 

फलफूलका बिरुवा रोप्दा सिँचाइमा पनि ध्यान दिनुपर्ने प्राविधिक सहायक खड्काले बताए । उनले भने ‘हामीले बिरुवा रोपीसकेपछि सिँचाइमा पनि ध्यान दिनु आवश्यक हुन्छ । यसका लागि हामीले बिरुवालाई हुर्कने गरी सिँचाइको व्यवस्थापन गर्नुपर्छ ।’

हिउँदे फलफूलका बिरुवा रोप्दा बिरुवा छनौटमा पनि ध्यान दिनुपर्ने खड्काले बताए । राम्रो नर्सरी र सुख्खा फलफूल विकास केन्द्रको नर्सरीबाट बिरुवा लग्नुपर्नेमा उनले जोड दिए । 

बैतडीमा २४ ओटा दर्तावाल निजी नर्सरी रहेका छन् भने सुख्खा फलफूल विकास केन्द्रको पनि आफ्नै नर्सरी रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update