Sagun Khabar
बैतडीमा विकास खर्च निराशाजनक 

बैतडी –चालु आर्थिक बर्षमा बैतडीमा विकास खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको ७ महिना बित्नै लाग्दा बैतडीमा प्रदेश तर्फका कार्यालयहरुको विकास बजेट १५ प्रतिशत मात्रै खर्च भएको छ । जिल्लामा प्रदेश तर्फका कार्यालयहरुको कुल पूँजीगत बजेट २ अर्ब ४६ करोड ९७ लाख ६३ हजार १३७ मध्ये चालु आर्थिक बर्षको अहिले सम्म ३८ करोड ६१ लाख १० हजार ६ सय २ रुपैंया मात्रै खर्च भएको छ । यो कुल बजेटका १५.६३ प्रतिशत मात्रै हो । 

यस्तै प्रदेश तर्फको चालु बजेट ६९ करोड १३ लाख ७१९ रुपैंया रहेकोमा २५ करोड ४३ लाख २९ हजार ४९३ रुपैंया खर्च भएको छ । यसरी चालु तर्फ कुल बजेटको ३६.७८ प्रतिशत रकम खर्च भएको छ । 

Atrya hospital

यस्तै संघका कार्यालयहरुको पनि विकास खर्च भने कमै देखिएको छ । चालु आर्थिक बर्षको अहिले सम्म जिल्लामा संघका कार्यालयको विकासे बजेट २१.६४ प्रतिशत खर्च भएको छ । संघका कार्यालयहरुको कुल पूँजीगत बजेट ७८ करोड ६ लाख २५ हजार मध्ये १६ करोड ८९ लाख ५२ हजार १५३ रुपैंया खर्च भएको छ ।

यस्तै चालु तर्फ भने संघका कार्यालयहरुको खर्च ५९.७६ प्रतिशत पुगेको छ । नेपाली सेना, प्रहरीको तलब समेत यसैमा समावेश रहेकाले यो खर्च बढेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले बताए । 

संघ मातहत रहेका कार्यालयको कुल चालु तर्फको बजेट ६ अर्ब १० करोड ४७ लाख ९१ हजार रहेकोमा ३ अर्ब ६४ करोड ८२ लाख ८१ हजार खर्च भएको भट्टले बताए । 

चालु आर्थिक बर्षको ७ महिना बित्नै लाग्दा समेत विकासे खर्च निराशाजनक रहेको छ । यसले असारे विकासको प्रवृतिलाई टेवा पुर्याउने काम गर्ने पाटनका दिनेश बिष्टले बताए । संघीयता आएपछि पनि असारमै खर्च गर्ने परिपाटी रहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update