बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबार शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुने गाउँपालिकाका शिक्षा अधिकृत दिनेश साउँदले बताए ।
प्रतियोगितामा पालिकाभरीका ७ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्स तर्फ दौड, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेलहरु समावेश गरिएका साउँदले बताए ।
प्रतियोगितामा विजेता हुने विद्यालयहरुलाई स्वर्ण पदक, रजत पदक र कास्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्दघाटन सत्र गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षता एवं बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्दघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँद, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।