Sagun Khabar
बैतडीमा मानव–वन्यजन्तु द्वन्द बढ्दै,पासोमै मारिन्छन् चितुवा 

बैतडी –बैतडीमा पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ । गएको एक दशकयता जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको हो । चितुवाले मानव बस्तीमै पसेर मानवीय क्षति गर्न थालेपछि पासो थापेर चितुवा मार्ने क्रम पनि बढ्दै गएको छ । 

२०६७ साल यता चितुवाको आक्रमणबाट जिल्लामा २६ जनाले ज्यान गुमाएका डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । यही अवधिमा १३ चितुवा पासोमा परेर मरेका छन् । बिहीबार मात्रै पाटनमा एक चितुवा मृत फेला पर्यो । चितुवाको घाँटीमा घाउ भएकाले पासोमा परेर चितुवा मरेको हुन सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने ‘चितुवा पासोमा परेर मरेको हुन सक्ने र त्यसपछि कसैले खोला किनारमा फालेको हुन सक्ने अनुमान गरेका छौं । यद्यपि पोष्टमार्टम रिपोट भने आउन सकेको छैन् ।’

Atrya hospital

चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेको कँडेलले बताए । चितुवा ३१ देखि ४१ वर्गकिलोमिटर क्षेत्रफलमा हिँडडुल, आहार र अन्य क्रियाकलापका लागि यताउता जाने गर्दछ । तर बैतडीमा त्यस्तो किसिमको जंगल नष्ट हुँदै गएकाले चितुवा मानववस्तीमा पस्न थालेको कँडेलले बताए ।उनले भने ‘चितुवाका लागि आवश्यक पर्ने वनजंगलको क्षेत्रफल घट्दै गएको छ । त्यसैले चितुवा मानवबस्तीमा पस्ने गरेको छ ।’

चितुवाको बासस्थान नष्ट हुँदै गएपछि मानवबस्तीमा पसेको चितुवाले पनि क्षति पुर्याउने गरेको छ । चितुवाले क्षति पुर्याउँदा पासो थापेर मार्ने क्रम बढ्दै गएको छ । अहिले सम्म मरेका अधिकांश चितुवा पासोमै मरेका पाइएको कँडेलले बताए । उनले भने ‘चितुवाबाट हुने क्षति रोक्न पासो थाप्ने गरिएको छ । यसले गर्दा पासो परेर चितुवा मर्ने गरेका छन् ।’

पासो थाप्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा पासो थापेर चितुवा मार्ने क्रम बढ्दै गएको छ । अन्नबालीमा क्षति पुर्याउने वन्यजन्तुका लागि थापेको पासोमा परेर पनि चितुवा मारिने क्रम बढ्दै गएको छ । 

चितुवा संरक्षणका लागि सामुदायिक वनहरुले पनि खासै पहल नचाल्दा चितुवा मार्ने र मर्ने क्रम बढ्दै गएको छ । चितुवा मर्दै गएपछि जंगली बँदेल लगायतका वन्यजन्तुहरुको संख्या पनि बढ्दै गएको छ । 

चितुवा संरक्षणका लागि प्रभावकारी कदम चाल्न नसके चितुवाहरु मानवबस्तीमा पस्दै जाने र उनीहरुले क्षति पुर्याउने हुँदा मारिने क्रम पनि बढ्दै जाने देखिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द कम गर्नका लागि स्थानीय सरकारहरुले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए ।  
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update