बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा पहिलोपटक पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । फागुन ३ गतेदेखि निङ्गलाशैनी खेल मैदान,देहिमाण्डौंमा प्रतियोगिता शुरू हुने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहने नगरभित्रका माविहरुलाई आज सम्म दर्ता गर्न अनुरोध गरिएको उनले बताए । प्रतियोगितामा छात्रछात्रा भलिबल , कबड्डी र एथ्लेटिक्सका खेलहरु खेलाइने अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद २५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै अनुसाशित टिम र मार्चपासमा प्रथम हुने टिमलाई ५÷५ हजार पुरस्कार दिइनेछ ।
यसअघि ब्याडमिन्टन र महिला क्रिकेटको आयोजना गरेको नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको तयारी गरिरहेको हो । खेलाडीहरुलाई हौसला प्रदान गर्न पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको नगरपालिकाले जनाएको छ ।
खेललाई प्राथमिकता दिएर नगरपालिकाले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।