काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गरेका हुन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।
३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उनको औसत ३५ भन्दा धेरै छ ।
एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन् । यस्तै आसिफ शेखले २४ खेलमा २८ को औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन् ।
अहिले नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्रिजमा रोहित र कुशल भुर्तेल छन् ।