कैलाली –नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । धनगढीमा मंगलबार समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले राष्ट्रपति राजनीति मान्छे नै हुनुपर्ने बताएका हुन् ।
गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै खतरामा पर्ने उनको दाबी छ । राष्ट्रपतिको उम्मेदवार बारे सबै राजनीतिक दलहरुले दूरदर्शिताका साथ निर्णय लिनुपर्नेमा उनले जोड दिए ।
उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने उल्लेख गरे ।
उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने सम्भावना नरहेको समेत दाबी गरे ।