बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा पहिलो पटक भोलि (बुधबार)देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका १९ माध्यमिक विद्यालयको सहभागिता रहनेछ ।
प्रतियोगिता अन्तर्ग छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेल खेलाइने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । प्रतियोगिताको तयारी पूरा भएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै अनुसाशित टिम र मार्चपासमा प्रथम हुने टिमलाई ५÷५ हजार पुरस्कार दिइनेछ ।
विद्यालयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताले सहयोग पुर्याउने विश्वास रहेको अध्यक्ष चन्दले बताए । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।