Sagun Khabar
राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्र उकासिँदै 

बैतडी –बैतडीका सबैजसो स्थानीय तहहरुमा अहिले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् । छात्रछात्रा भलिबल, एथलेटिक्सका खेलहरु प्रतियोगिता अन्तर्गत सञ्चालनमा रहेका छन् । 

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीयस्तरमा खेलाडीहरुको उत्पादन र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने पाटन नगरपालिकाका शिक्षा अधिकृत ललित पाण्डेले बताए । उनले भने ‘नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरीका माविहरुको सहभागिता छ । यसले स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्छ ।’

Atrya hospital

पालिकामा सञ्चालन भइरहेका राष्ट्रपति रनिङ शिल्डले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने भलिबलका प्रशिक्षक हरिसिंह भण्डारीले बताए । पालिकामा भइरहेका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलाडीहरुको पहिचान हुने र उनीहरुलाई अवसर समेत प्राप्त हुने उनले बताए । यसअघि विरेन्द्र शिल्डबाटै राष्ट्रिय खेलाडीहरु उत्पादन भएकाले अहिले राष्ट्रपति रनिङ शिल्ड पनि खेलाडी उत्पादनको थलो बन्ने उनले बताए । उनले भने ‘बैतडीबाट भलिबल र अन्य खेलका राष्ट्रिय खेलाडीहरु छन् । अहिले पनि त्यस्ता प्रतिभा पहिचानका लागि यी प्रतियोगिताहरु सहयोगी बन्छन् ।’

कोरोनाका कारण विगत दुई बर्ष खेलकुदका कार्यक्रम नभएपनि यो बर्ष खेलकुदका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । खेलकुद क्षेत्रका लागि स्थानीय तहहरुले बजेटको व्यवस्थापन गर्नुपर्ने बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । उनले भने ‘स्थानीय तहहरुले खेलकुदका लागि बजेट विनियोजन गर्न आवश्यक छ । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न सकेमात्रै यो क्षेत्रको विकास हुन्छ ।’

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट जिल्लास्तरीय खेलाडी छनौट हुने र जिल्लास्तरीय प्रतियोगिताबाट क्षेत्रीयस्तरका खेलाडी छनौट हुने प्रशिक्षक भण्डारीले बताए । यस्तै प्रतियोगिताहरुबाट राष्ट्रियस्तरका खेलाडी छनौट हुने उनले बताए । सबै पालिकाहरुले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update