Sagun Khabar
बैतडीको ढुंगाड–गर्जे सडक स्थानीयले अवरुद्ध गरे 

बैतडी –बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक स्थानीयहरुले अवरुद्ध गरेका छन् । ढुंगाडमा स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् । गाउँपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै सडक अवरुद्ध गरेका स्थानीय राजेन्द्र चन्दले जानकारी दिए । उनले भने ‘सडक खेत भएर गएको छ । त्यतिबेला ट्रयाक खोल्नका लागि गाउँपालिकाले आग्रह गरेको थियो । सो आग्रहलाई स्थानीयले स्वीकारे हुन् । पछि खेतभन्दा तलतिर सडक बनाउने सहमति भएको हो । त्यो सहमति कार्यान्वयन नभएपछि सडक अवरुद्ध गरिएको छ ।’

सिगास गाउँपालिकाले गर्जे सम्म सडक सञ्चालन गर्ने क्रममा ढुंगाडका स्थानीयहरुको खेतबाट सडक खनेको र पछि तल सडक बनाउने सहमति गरेको भएपनि त्यो सहमति पूरा नभएपछि स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । जेठ मसान्त सम्म खेतभन्दा तल सडक बनाउने र तत्कालका लागि खेत भएर ट्रयाक खोल्न गाउँपालिकाले आग्रह गरेको थियो । गाउँपालिकाको आग्रहलाई त्यतिबेला स्थानीयहरुले मानेको र अहिले सडक नबनाएकाले उनीहरुले सडक अवरुद्ध गरेका चन्दले जानकारी दिए । 

Atrya hospital

ढुंगाड –गर्जे सडक स्थानीयहरुले अवरुद्ध गरेपछि विभिन्न निर्माण सामग्री बोकेका ट्याक्टर ढुंगाडमै अड्किएका छन् । जेसीबीको बकेट बोकेको ट्याक्टर स्थानीयहरुले सडक अवरुद्ध गर्दा बीचबाटोमै रोकिएको ग्रिनसिटी कन्सट्रक्सनका प्रबन्धक धर्मानन्द अवस्थीले बताए । उनले भने ‘निर्माण सामग्री र बकेट बोकेको ट्याक्टर बीचबाटोमै रोकिएको छ । यता जेसीबी राखेको ठाउँमा पनि पहिरो खसेको छ । बकेट ल्याउन नपाउँदा मेसिन पहिरोमा पुरिने डर भएको छ ।’

जेसीबी राखेको दुवै ठाउँमा पहिरो खसेको र बकेट बोकेको ट्याक्टर पनि बीचबाटोमै रोकिएपछि आफूलाई धेरै समस्या भएको उनले बताए । 

यो बिषयमा सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले गाउँपालिकाले तलतिर सडक बनाउने भनेपनि विविध कारणले समयमै बनाउन नसकेको बताए । स्थानीयहरुसंग सहमति गरेर सडक खुलाउने प्रयास भईरहेको ओझाले बताए । उनले भने ‘पहिला तलतिर सडक बनाउने भन्ने कुरा भएको हो ।कोरोना लगायतका कारणले बनाउन सकिएन् । स्थानीयहरुसंग छलफल गरेर टुंगोमा पुग्ने प्रयास भईरहेको छ ।’ 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update