बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । रौलेश्वर मावि रामकी बरायलको प्रांगणमा प्रतियोगिताको उद्दघाटन गरिएको हो ।
गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक केशव बिष्टको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी बिशिष्ट अतिथी रहेकी थिइन् ।
प्रतियोगितामा पालिकाभरीका १० ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेलहरु समावेश गरिएको गाउँपालिकाका प्राविधिक सहायक टंकप्रसाद अवस्थीले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार ५ सय सहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुनेलाई नगद २० हजार ६२५ सहित शिल्ड, ट्रफी र प्रमाण पत्र, तेश्रो हुनेलाई नगद १५ हजारसहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई नगद ५ हजार २७५ सय सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्राविधिक सहायक अवस्थीले बताए ।