Sagun Khabar
सुदूरपश्चिमका डिआइजी अशोक सिंहले दिए राजीनामा 

कैलाली– सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले राजीनामा दिएका छन् । उनी उमेर विवादमा परेका थिए । उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । 

उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।  २०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ । तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ ।  उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । 

Atrya hospital

प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष छ । तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए । उनीसहित १७ जना गत असार ८ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनी बढुवा हुनुअघि नै उमेर हद पुगिसकेको थियो । 

अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन् ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update