Sagun Khabar
बैतडीमा कोरोना संक्रमणदर घट्दै 

बैतडी –बैतडीमा कोरोना संक्रमणदर घट्दै गएको छ । वैशाख २० गतेदेखि जारी निषेधाज्ञाका कारण भीडभाड कम भएकाले संक्रमणदर घट्दै गएको हो । कोरोना परीक्षणको दायरा बढाइएको र लकडाउनका कारण भीडभाड पनि नभएकाले संक्रमणदर घट्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

कोरोनाको दोश्रो लहर आएपछि संक्रमदर ४० प्रतिशत सम्म पुगेको बैतडीमा अहिले संक्रमणदर निकै घटेको उनले बताए । उनले भने ‘पहिलाको तुलनामा संक्रमणदर अहिले निकै घटेको छ । हामीले चेकजाँच गर्दा पनि यो पाइएको छ ।करीब साढेचार सय जनाको परीक्षण गर्दा संक्रमण शुन्यकै अवस्थामा रहेको पाइयो ।’

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमित संख्या १५० भन्दा कम भईसकेको छ । जिल्ला अस्पतालमा पनि कोरोनाका बिरामीको संख्या घटेको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

कोरोनाको दोश्रो लहर फैलिएपछि अस्पतालमा समेत शैइयाको अभाव देखिएको थियो । तर अहिले बिरामीको संख्या घटेर दुई जनामात्रै अस्पतालमा उपचाररत रहेका छन् । कोरोनाको संक्रमणदर र मृत्युदर दुवै घटेको डा. जोशीले बताए । तर जोखिम भने कायमै रहेको उनले बताए । उनले भने ‘संक्रमणदर घटेको भएपनि जोखिम भने कायमै रहेको छ । स्वास्थ्यका मापदण्ड हामीले अनिवार्य रुपमा पालना गर्नुपर्दछ ।’

बैतडीमा अहिले कोरोना निको हुने दर पनि ९३ प्रतिशत बढी देखिएको छ । अहिले सम्म २ हजार ४७२ जनामा कोरोना पुष्टि भएकोमा २ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा कोरोना निको हुने दर ९३.५६ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले सम्म कोरोनाबाट १७ जनाको मृत्यु भईसकेको छ । 

जिल्लामा असार १५ गते सम्म निषेधाज्ञा जारी रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update