काठमाण्डौं – मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ । वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको सोमबार पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको र यस्ता सहयोगले झनै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले नेपालका लागि भारत सरकारले धेरै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै थप सहयोगको अपेक्षा गरेको बताए ।
त्यस्तै, नेपालका लागि भरतीय राजदुत नविन श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा भारत सरकारबाट धेरै सहयोग भइरहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्ध थप बिस्तार हुने बताए ।
उनले हरेक वर्ष नेपालबाट भारतमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई भारत सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए । भारत सरकारले शिक्षामा गरेको सहयोगले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि थप राहत हुने विश्वास व्यक्त गरे ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।
ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।