Sagun Khabar
विश्वासको मत लिने तयारी गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाह 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गतेभित्र विश्वासको मत लिने गरी तयारी थालेका छन् ।

केन्द्रमा आठदलीय गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटघाट गरेर फर्किएपछि शाहले विश्वासको मतबारे प्रदेशमा दलहरुसँग छलफल थालेका छन् ।

Atrya hospital

नयाँ सत्ता समीकरण बनेपछि मंगलबार मुख्यमन्त्री शाहले आठदलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिने र मुख्यमन्त्री शाहले विश्वासको मत लिने विषयमा छलफल भएको हो ।

बैठकमा सहभागी कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी १९ गते हुने प्रदेशसभा सदस्यको प्रशिक्षण तथा मुख्यमन्त्रीको विश्वासको मतबारे छलफल भएको जानकारी दिए ।  

तर बैठकमा मन्त्रालयको भागबण्डा लगायतका विषयमा भने छलफल भएन । माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले सरकारमा पावर सियरिङको कुरा शीर्ष तहका नेताहरुले टुंग्याउने भएकाले तत्काल त्यो विषयमा कुनै कुराकानी नभएको बताए । २५ गते राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न सांसदहरुले काठमाडौं जानुपर्ने भएकाले २१ गतेभित्र विश्वासको मत लिन उपयुक्त हुने सुझाव मुख्यमन्त्रीलाई दिएको उनको भनाइ छ ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरी, कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्का, माओवादीका अक्कल रावल, स्वतन्त्र सांसद जोशी सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update