नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गर्नुभएको छ ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनु भयो । उहाँले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाउनुभयो । उहाँले यसको विरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस्ता मुद्दाहरुमा सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको बताउनुभयो । उहाँले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरु महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गर्नुभयो । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७६ माघ १ मा काठमाडौंको खुला मञ्चमा भएको एक कार्यक्रममा माओवादी द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताउनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर दाहालमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै ज्ञानेन्द्र राज आरण लगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ बिरुद्ध निवेदन लिएर उनीहरु सर्वाेच्च गएका थिए । गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । त्यस विषयलाई लिएर भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।