Sagun Khabar
नेपाल–भारत विद्युत आदानप्रदान समिति बैठक : बिहारको ग्रिडमार्फत विद्युत निर्यात हुने

काठमाण्डौं –नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले बिहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो । 

नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने र यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

Atrya hospital

बिहारसँग कटैया (बिहार)–कुशाहा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत फागुनको पहिलो हप्तामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल÷मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो । 

विद्युत् आदानप्रदान समितिको बैठकले विद्युत् आदानप्रदान सम्झौताअन्तर्गत आयात निर्यात हुने विद्युतको प्रतियुनिट दर सात रुपैयाँ २१ पैसा भारतीय मुद्रा (११ रुपैयाँ ५४ पैसा नेपाली) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२÷२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत् आदानप्रदान दर तय गरेको हो । 

विद्युत् आदानप्रदान सम्झौताबमोजिम नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेका बेलामा विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेका बेला सबैभन्दा बढी बिहारबाट विद्युत् आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेका बेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारततर्फ निर्यात गर्दा पनि लागू हुने बताए । नयाँ तय गरिएको दर ‘टेक अर पे’ आधारमा नभएको उनले बताए ।

उनले गत डिसेम्बरमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रतियुनिट क्रमश ः सात दशमलव ५० र आठ दशमलव ७० रुपैयाँ प्रस्ताव पेस गरेको बताए । 

बैठकले नेपालले बिहारमा विद्युत् निर्यातका लागि एक महिनाभित्र मोडालिटी तय गर्ने निर्णय गरेको छ । प्राधिकरणले आवश्यक परेका बेला भारतबाट व्यापारिकरुपमा इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सेञ्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली आयात गर्छ । व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्चेञ्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी रु आठ अर्ब ४४ करोड आर्जन गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update