कैलाली – सुदूरपश्चिममा मन्त्रीपरिषद्ले अझै पूर्णता पाएको छैन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सुदूरपश्चिममा ७ ओटा मन्त्रालय रहेका छन् । अहिले चारओटा मन्त्रालय मन्त्री विहिन रहेका छन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् । उनले चारओटा मन्त्रालय आँफैसंग राखेका छन् । शाहले माघ २७ मा मन्त्रिपरिषद् गठन गर्दा कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिएका छन् ।
फागुन २१ मा माओवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने गरी विश्वासको मत दिए पनि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले मुख्यमन्त्री र प्रमुख सत्ताधारी दलका कारण सरकारले पूर्णता पाउन ढिलाइ भएको बताए ।
गठबन्धनमा केन्द्रमा शीर्ष तहमै भागबन्डा मिलाउनुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् विस्तारपछि मात्र प्रदेश सरकारले पूर्णता पाउने देखिएको छ ।
भौतिक विकास, आर्थिक मामिला र सामाजिक विकास मन्त्रालयमा दलहरूको तीव्र दाबी छ। माओवादीले तीन र नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्रीसहित तीनवटा मन्त्रालयमा कांग्रेसको दाबी छ । माओवादी सांसद अक्कलबहादुर रावलले केन्द्रमा हुने सहमतिका आधारमा प्रदेशमा सरकार विस्तार हुने बताए । संसद्को दोस्रो ठूलो दल भएकाले पनि तीन मन्त्रालय लिन पार्टीको नेतृत्व तहलाई आग्रह गरिएको उनले बताए ।