काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
इजलासले मुद्दा नचलाउनुको कारणबारे लिखित जवाफ भने माग गरेको छ । अदालतले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेले आउँदो वैशाख १० गते हुने उप चुनावमा ढुक्कसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । पौडेलले रिटमा राहदानी दुरुपयोग गरेकाले रवि लामिछानेलाई पक्राउ गरेर मुद्दा चलाउन माग गरेका थिए ।
आज भएको सुनुवाइमा लामिछानेका वकिलहरुले अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको दाबी गरेका छन् । अधिवक्ता युवराज पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । त्यो फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।