बैतडी- नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौलेख जिप दुर्घटनामा परी आफन्त गुमाएकालाई क्षतिपूर्ती दिन माग गरेका छन् । पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग उनले माग गरेका हुन् ।
बुधवार प्रतिनिधिसभा बैठकको सुरूमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरूको मृत्यु भएको भन्दै तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन्। मंगलवार राति जिप दुर्घटना भएको थियो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरू सबै एकै गाउँका हुन्। जिपमा सवार पाँचजना सकुशल छन्।
सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शवसमेत बुझेका छैनन्। सांसद जोशीले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव घटनास्थलमै राखेर सडक अवरुद्ध पारिरहेका छन। तर सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ।