Sagun Khabar
ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिर सम्म जोड्ने पदमार्ग निर्माण कार्य शुरु 

बैतडी –बैतडीको प्रसिद्ध ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिरसम्म जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । पदमार्ग निर्माण कार्य अन्तर्गत ८ हजार ८४८ ओटा सिँढी निर्माण गरिने ईश्वर रामनाम समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । 

पदमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजेट प्राप्त भएको छ भने अन्य रकम स्थानीयस्तरमा चन्दा संकलन गरिँदैछ । प्रति सिँढी ११ हजारका दरले चन्दादाताहरुले चन्दा दिने गरेको चन्दले बताए । सिँढी निर्माणका लागि चन्दा दिनेहरुको तिनपुस्ते नामावली सिँढीमै लेख्ने निर्माण समितिले जनाएको छ । 

Atrya hospital

ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिरको दर्शन गर्न सहज होस भनेर पदमार्ग निर्माणको काम शुरु गरिएको निर्माण समितिले जनाएको छ । जगन्नाथ मन्दिरको दर्शनसंगै ईश्वरीगंगा धामको पनि दर्शन गर्नुपर्ने भएकाले श्रद्धालुहरुलाई धाममा पुग्न सहज होस भनेर पदमार्ग निर्माणको काम शुरु गरिएको हो । 

ईश्वरीगंगा धाम र जगन्नाथ मन्दिरबीच धार्मिक सम्बन्ध रहेकाले पनि धार्मिक पर्यटकहरुलाई दुवै मन्दिरमा दर्शनका लागि पुग्न सहज होस भनेर पदमार्ग निर्माण कार्य शुरु गरिएको हो । दुईतीन बर्ष अगाडिदेखि निर्माण कार्य थाल्ने योजना भएपनि कोरोना कहर कारण पदमार्ग निर्माणमा ढिलाई भएको हो । 

अबको तीन बर्षभित्र पदमार्ग निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको समितिले जनाएको छ । पदमार्ग निर्माण कार्य सम्पन्न भएमा ईश्वरीगंगा धाम र जगन्नाथ मन्दिरमा आन्तरिक धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ । 

जगन्नाथ मन्दिरमा चढाएको दुध ईश्वरीगंगा धाममा पुग्छ भन्ने जनविश्वास रही आएको छ । ईश्वरी गंगा धाममा गुफा रहेको र सो गुफा जगन्नाथ मन्दिर गढी सम्म रहेको बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update