Sagun Khabar
‘अपि बेश क्याम्प’भ्रमण सप्ताह, कहाँ पुग्यो तयारी ?

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिको ‘अपि बेश क्याम्प’भ्रमण सप्ताहको तयारी पूरा भएको जनाएको छ । यही वैशाख १४ देखि २१ गते सम्म सञ्चालन हुने भ्रमण सप्ताहको तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । 

अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गर्न लागिएको हो । उनले भने ‘अपिहिमाल गाउँपालिकाको पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने, प्रचारप्रसार र यहाँका प्राकृतिक सम्पदाहरुको बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले भ्रमण सप्ताहको आयोजना गरेका हौं ।’

Atrya hospital

७ हजार १३२ मिटर उचाईमा रहेको अपि बेश क्याम्पमा पुगेर अपि हिमाल, नाम्पा हिमाल र अन्य प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराले बताए । भ्रमण सप्ताहलाई सफल पार्नका लागि व्यवस्थापन समिति समेत गठन गरिएको उनले बताए । 

भ्रमण सप्ताह अन्तर्गत तीन चरणमा टोलीहरु बेश क्याम्प पुग्ने योजना बनाइएको अध्यक्ष बोहराले बताए । पहिलो टोली वैशाख १५ गते, दोश्रो टोली वैशाख १७ गते र तेश्रो टोली वैशाख १९ गते वेश क्याम्पका लागि हिड्ने हिसाबले तयारी भएको गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन् । 

अपि वेश क्याम्पमा पुगेपछि अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी हिमाल लगायतको दृश्वालोकन गर्न पाइनेछ भने वेश क्याम्पमा रहेका विभिन्न तालहरुको समेत दृश्यवालोकन गर्न पाइने अध्यक्ष बोहराले बताए । यस्तै चमेलिया नदीको मूहान समेत वेश क्याम्पबाटै देख्न सकिने बताइएको छ । 

भ्रमण सप्ताहको समयमा मल्देशको संस्कृति, रहनसहन र चालचलनका बिषयमा समेत जानकारी दिनुका साथै सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अन्तर्गत रहेका होमस्टेहरुको बजार प्रवद्र्धनमा समेत भ्रमण सप्ताहले सहयोग पुग्ने विश्वास लिइएको छ । 
भ्रमण सप्ताहमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई आमन्त्रण गरिसकिएको अध्यक्ष बोहराले बताए । यस्तै विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update