विराटनगर- सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्वसांसद गुलेफुन खातुनले आज (शुक्रबार) जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई आजै कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् ।
उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो ।
तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको छ । जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्चको विरुद्धमा सर्वोच्चमा दोहो¥याइ पाउँ भनी दिएको निवेदनमा पनि सर्वोच्चबाट निस्सा नपाएपछि उनको सांसद पद खारेज भएको थियो ।
साबिक कदमाह गाविस–२ (हाल कटहरी –९) मा मधुसुधनराज पाण्डेको तीन बिगाहा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो । खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो । उनी निरक्षर हुन् ।