काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ । यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णालीका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने र बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केहीस्थानमा र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।