Sagun Khabar
रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि पुर्याइएको थियो । 

Atrya hospital

सभापति लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक तथा उनका परिवारका सदस्यसमेतको सहमतिमा थप उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

उपनिर्वाचनको ६ दिनअघि भएको घटनालाई राजनीतिक रुप नदिन पनि सभापति लामिछानेले सार्वजनिक रूपमा अपिल गरेका थिए ।

लामिछानेका ड्राइभर थापा छतबाट खसेर घाइते भएसँगै अचेत अवस्थामा थिए । उनी के कति कारणले छतबाट खसे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने यकिन कारण हालसम्म सार्वजनिक गरिएको छैन । मेडिसिटी अस्पतालस्थित उच्च स्रोतका अनुसार थापाको टाउकोमा लागेका चोटका कारण पूर्ण रूपमा अचेत थिए र उनलाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

दिमागले कुनै पनि काम नगरी रहेको अवस्थामा रहेका थापाको स्वास्थ्यमा केही दिनअघि सुधारका संकेत देखिए पनि शुक्रबारदेखि उनको अवस्था पुनः गम्भीर बनेको थियो । ’ब्रेन डेथ’को अवस्थामा रहेका थापाको मंगलबार दिउँसो निधन भएको हो ।

दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update