बझाङ–बझाङमा हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या भएको छ । केही दिनयता हिमाली क्षेत्रमा निरन्तर हिमपात हुन थालेपछि यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन् ।
यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ । हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका प्रकाश धामीले बताए ।
वर्षा र हिमपात भएपछि स्थानीयहरु आफ्नो ज्यान जोखिममा पारेर घर फर्किरहेका छन् । बझाङमा यार्सा गुम्बा संकलनका लागि गएका मध्ये चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भइसकेको छ भने एक जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।
सुर्मा गाउँपालिका वडा नं १ देवडीकी ३३ बर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।