Sagun Khabar
बझाङका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर, विद्यालय असारसम्म बन्द 

बझाङ- बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएको हो।

उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द भएका छन् । धेरैजसो विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने धेरैजसो विद्यालय बन्द छन् ।

Atrya hospital

यी  विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए ।  आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरूले  बताए  । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको  बताइएको  छ ।

ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लैजाने गरेका साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताए  । बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट सात लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि वन खुल्ला गरिएको थियो । त्यही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update