बैतडी- कञ्चनपुरका ३ पालिकामा आधुनिक साइरन जडान गरिएका छन् । संभावित विपद्बारे सूचित गर्न आधुनिक साइरन जडान गरिएका हुन् ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको सहजीकरण,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा पहिलो पटक आधुनिक (साइरन प्रणाली) जडान गरिएका नेपाल रेडक्रस सोसाइटी स्ट्रोङ परियोजना शुक्लाफाटा नगरपालिकाका पालिका सहायक देब बहादुर महराले जानकारी दिए ।
यो साइरन प्रणाली पुनर्वास नगरपालिका वडा नं ५ को चन्द्रबाल आधारभूत विद्यालय, लालझाडी गाउँपालिकाको वडा नं १ शारदा माध्यमिक विद्यालय,वडा नं २ को स्वास्थ्यचौकी शंकरपुर, वडा नं ३ खानेपानी टयांकि नन्दगाँउ र वडा नं ४ खानेपानी ट्यांकि सिकलपट्टिमा जडान भएको बताइएको छ ।
यस्तै शुक्लाफाटा नगरपालिकाको वडा नं ८ बेल्डाँणी स्थित सिद्धनाथ मावि, वडा नं १२ को कालागौडी स्थित वडा कार्यालय र वडा नं ५ गर्जुमनी स्थित वडा कार्यलयमा (साइरन) जडान गरिएको महराले बताए । यो प्रणालीले संभावित विपद्बारे सर्वसाधारण नागरिकहरुलाई सूचित गर्ने छ ।
साइरन प्रणालीमा सिमकार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट सूचना प्रवाह गर्न सकिने बताइएको छ । यस प्रणालीले ध्वनी मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी दिन सक्नेछ । साइरनको ध्वनी उपकरण राखिएको स्थानबाट करिब २ किलोमिटर टाढा सम्म सुन्न सकिनेछ ।