कैलाली –धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकका परिवारले दिएको किटानी जाहेरीको आधारमा शाहका पूर्व प्रेमी समेत रहेका केसीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
केसी शनिबार बिहान आँफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्टराई भने फरार छन् । आत्महत्या दुरुत्साहनमा भट्टराई विरुद्ध पनि किटानी जाहेरी परेको छ ।
प्रहरीकाअनुसार उनी मृतक शाहसँग प्रेम सम्बन्धमा थिए । मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।
माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।