Sagun Khabar
कैलालीमा नेपाल–भारत डिआइजीस्तरीय बैठक सम्पन्न 

कैलाली –कैलालीमा नेपाल र भारतका सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलका अधिकारीहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमवार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी अत्तरियामा दुई देशको डिआइजीस्तरीय समन्वयात्मक बैठक बसेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने र भारतीय सशस्त्र सीमा बल (एसएसबी) तर्फबाट पिलिभित सेक्टरका सेक्टर कमाण्डर डिआइजी अजयकुमार तथा अल्मोडा सेक्टरका सेक्टर कमाण्डर  डिआइजी डिएन बम्बेको सहभागिता रहेको थियो । 

Atrya hospital

दुई देशका सीमा सुरक्षा अधिकारीहरूको बैठमा सीमा अपराध नियन्त्रण, चेलीबेटी बेचबिखन तथा मानव तस्करी रोकथाम, सीमा स्तम्भहरूको सुरक्षा, कोभिड महामारी रोकथाम र लागुऔषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार नियन्त्रण गर्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीले जनाएको छ ।
बैठकमा समकक्षीहरूबीच सूचना आदानप्रदान, दुबै देशका सुरक्षाकर्मीहरूद्वारा सीमावर्ती ईलाकामा हुन सक्ने नक्कली मुद्राको कारोबारमा निगरानी एवं नियन्त्रण गर्ने, दुबै राष्ट्रका समकक्षी सुरक्षा निकायहरू बिच विभिन्न अभ्यासहरू समेत सञ्चालन गर्ने विषयमा छलफल भएको बताइएको छ । 

यसैगरी बैठकमा आवश्यकताअनुसार समय–समयमा समन्वयात्मक बैठकहरू सञ्चालन गर्ने, सीमा सुरक्षा गर्ने, अवैध सामान ओसारपसार नियन्त्रण गर्ने र सीमा ईलाकामा सुरक्षात्मक सौहार्दपूर्ण वातावरण बनाई राख्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ । 

दुवै देशका सीमा सुरक्षा अधिकारीहरुबीचको छलफलले एकआपसमा सहयोगको वातावरण समेत सिर्जना भएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update