Sagun Khabar
बझाङमा बिहानै ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प 

बैतडी – बझाङमा बुधबार बिहानै भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । देशको सुदूरपश्चिम क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि यही जेठ ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

Atrya hospital

त्यस्तै, बाजुरा नै केन्द्र विन्दु भएर गएको वैशाख २८ गते ४ दशमलव ३, २१ गते ४ दशमलव १, १५ गते ५ दशमलव ९, १४ गते ४ दशमलव ९  र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । जमीनमुनि शक्ति सञ्चित भएकाले जुनसुकै समयमा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तमाङले बताए । 

पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको उनको भनाइ छ । सुदूरपश्चिम क्षेत्रका ग्रामीण भेगहरुमा भूकम्प प्रतिरोधी संरचना नभएकाले बिशेष सावधानी अपनाउनुपर्ने तामाङको सुझाव छ । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update