कैलाली –सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले नागरिकले नरुचाएका काममा सबैले खबरदारी गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम सरकारले धनगढीमा मनाएको १६ औं गणतन्त्र दिवस समारोहमा मन्त्री देउवाले राम्रा काममा रचनात्मक सहयोग गर्न र नागरिकले नरुचाएका काममा खबरदारी गर्न आग्रह गरेका हुन् ।
मन्त्री देउवाको अध्यक्षतामा आयोजित गणतन्त्र दिवस समारोहमा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए ।
समारोहमा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रदेश प्रमुख र प्रदेश सरकारका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले शुभकामना मन्तव्य दिँदै दसकौको संघर्षबाट गणतन्त्र आएकाले प्रदेश सरकारले गणतन्त्रको मर्मअनुसार काम गर्ने बताए ।
उनले जनताको काम प्रभावकारी बनाउनु प्रदेश सरकारको प्राथमिकता प्राथमिकतामा रहेको बताउँदै अघिल्लो सरकारले सुरु गरेका राम्रा कामको अपनत्व लिएर स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले काम गर्ने बताए ।