बैतडी –देउडा गायक महेशकुमार औजीको पछिल्लो समय बजारमा आएको ‘लैजा परान’चर्चामा रहेको छ । देउडा दर्पण युट्युब च्यानल मार्फत करीब दुई साता अघि सार्वजनिक गरिएको देउडा गीत ‘लैजा परान’चर्चाको शिखरमा पुगेको हो ।
औजीको स्वर, शब्द र संगीतमा रहेको सो गीत अहिले सामाजिक सञ्जाल टीकटकमा समेत भाइरल भएको छ । गीतका टुक्का राखेर धेरैले टीकटक बनाएका छन् । ‘छैन आब बाँच्न्या मन, आइझा काल लैझा परान’टुक्का राखेर धेरैले टीकटक बनाएका छन् ।
देउडा गायक औजीको पछिल्लो समय बजारमा आएको देउडा गीत निकै रुचाएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । सो गीतमा समेटिएका शब्दहरुले मानिसको वास्तविकता झल्काएकाले धेरैको रोजाईमा परेको दशरथचन्द नगरपालिका वडा नं १ का पुष्कर भट्टले बताए ।
‘लैजा परान’बोलको गीत युट्युबमै ६ लाख बढीले हेरीसकेका छन् । उसो त देउडा गायक औजीले गाएका सबै जसो गीतहरु चर्चामा रहने गरेका छन् । मानिसको जीवनसंग मेल खाने शब्दहरुलाई टपक्क टिपेर देउडामा बुन्न सिपालु औजीको स्वर पनि जादुमय रहेको छ ।
‘लैजा परान’बोलको गीत सामाजिक सञ्जालका साथै सार्वजनिक यातायातमा समेत धेरै बज्ने गरेको पाइएको छ ।
दर्शक, श्रोताको मायाले देउडा गीतको क्षेत्रमा लागिरहने प्रेरणा जागिरहेको गायक औजीले बताए । पछिल्लो समय बजारमा आएको गीतले धेरैको जीवन बोलेको उनले बताए ।
बैतडीको पञ्चेश्वर घर भएका औजी लामो समयदेखि गायन क्षेत्रमा लागेका कलाकार हुन् । उनका धेरैजसो देउडा गीत नै बजारमा आएका छन् । उनले गाएका हरेक गीतको गाउँबस्तीमा चर्चा समेत हुने गरेको छ ।