कैलाली –कैलालीको कैलारी गाउँपालिकाले बर्सेनि बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ ।
कैलालीमा सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।
गएको वर्षको बाढीबाट विस्थापित १६ घर परिवारलाई टेन्टमा जङ्गलमा बसोबास गराउँदै आएको गाउँपालिकाले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो ।
बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।
गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ ।