
बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनमा जथाभावी रुख काट्नेहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ । स्थानीयस्तरमा सामुदायिक वन उपभोक्ता समितिले काठ काट्ने कार्यमा संलग्नहरुलाई कारवाही गर्न नसकेपछि सब डिभिजन वन कार्यालय पाटनलाई कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको हो ।
आइतबार सामुदायिक वन उपोक्ता समिति र अन्य सरोकारवालाहरुको बैठकले सामुदायिक वनबाट जथाभावी काठ काट्ने माथि कारवाही गर्न आग्रह गरेको हो । सिद्धनाथ सामुदायिक वनबाट नेपाल राष्ट्रिय मावि सिउडेको भवन निर्माणका लागि रातीको समयमा निर्माण समितिले जथाभावी काठ काटेको आरोप लागेको छ ।
सामुदायिक वनको सहमति बिना काठ काटिएकाले रुख काट्नेहरुमाथि कारवाही हुनुपर्ने उपभोक्ताहरुले माग गरेका छन् । स्थानीय स्तरमा अनुगमन समिति निर्माण गर्न नसकेपछि कारवाहीको प्रक्रिया अघि बढाईदिन सब डिभिजन वन कार्यालयलाई अनुरोध गरिएको हो ।
यो बिषयमा सव डिभिजन वन कार्यालयका पाटनका सहायक वन अधिकृत अलंकार ढुंगानाले फेरी एक सामुदायिक वनको बैठक बसेर निर्णय गनुपर्ने बताए । पहिलो चरणमा सामुदायिक वन उपभोक्ता समितिले नै कारवाही प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । उनले भने ‘भोली फेरी सामुदायिक वन उपभोक्ता समितिको बैठक बस्छ । त्यो बैठकले निर्णय गरेर कारवाही प्रक्रिया सामुदायिक वन उपभोक्ता समितिबाटै अघि बढ्छ ।’
सामुदायिक वन उपभोक्ता समितिले कारवाही प्रक्रिया शुरु गरेपछि पनि आरोपित व्यक्तिले अटेर गरेमा मात्रै सव डिभिजन वन कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने उनले बताए ।