Sagun Khabar
नेपाल र भारतका वन अधिकारीको बैठक सम्पन्न, सूचना र सहयोग आदानप्रदान गर्ने सहमति 

कैलाली –नेपाल र भारतका वन अधिकारीहरुले एकआपसमा सूचना र सहयोग आदानप्रदान गर्ने सहमति गरेका छन् । सोमबार कैलालीको धनगढीमा दुवै देशका वन अधिकारीहरुको संयुक्त बैठकले यस्तो सहमति गरेको हो । 

सीमा क्षेत्रमा मानव वन्यजन्तु द्वन्द, तस्करी र चोरी शिकारी नियन्त्रण गर्न दुवै देशका अधिकारीहरुको बैठक बसेको सुदूरपश्चिम प्रदेश वन निर्देशक कृष्ण भट्टले बताए । बैठकमा दुई देशका वन अधिकारीहरूले वन, वन्यजन्तुको संरक्षण गर्न र मानव वन्यजन्तु बिचको द्वन्द्व  रोक्न सहकार्य गर्ने मौखिक सहमति गरेको उनले बताए । 

Atrya hospital

बैठकले सीमा क्षेत्रमा हुने वन्यजन्तुको आवागमन, चोरी सिकारी,  वन्यजन्तुको आक्रमण र तस्करी रोक्न दुबै देशका वन अधिकारीहरूलाई सहकार्य गर्न सजिलो हुने प्रदेश वन निर्देशक भट्टले बताए । 

नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा टाइगर रिजर्भका बाघ, हात्ती र अन्य जङ्गली जनावर र स्थानीयबीच  द्वन्द्वको अवस्था सिर्जना हुने गरेको छ । यसका साथै दुई देशको सीमा  क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्न दुबै देशका वन अधिकारीको छलफल तथा अनुभव आदानप्रदानको कार्यक्रम राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए । 

दुई देशका वन अधिकारी बिचको छलफलमा  प्रदेश वन निर्देशक कृष्ण भट्ट, डिभिजन वन कार्यालय धनगढीका  प्रमुख केशवराज पराजुली, पहलमानपुर वन डिभिजन प्रमुख गोकुल रिजाल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन र प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकारी र भारतको दुधुवा टाइगर रिजर्भका डिपुटी डाइरेक्टर गङ्गा राजुको नेतृत्वमा १० जना अधिकारीको सहभागिता रहेको थियो । 

दुई देशका वन अधिकारीहरूको छलफलले सिमा क्षेत्रमा हुन मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकारी र तस्करी नियन्त्रण गर्न सूचना आदानप्रदान गर्न सहज हुने दुधुवा टाइगर रिजर्भका डिपुटी डाइरेक्टर गङ्गा राजुले बताए । बैठकले सीमा क्षेत्रमा हुने अनावश्यक मानवीय गतिविधि रोक्न सहयोग पुग्ने उनले बताए । यस्तै, मानव र वन्यजन्तु बिचको द्वन्द्व समाधान गर्न र वन संरक्षण गर्न सूचना आदानप्रदान गर्न समेत बैठकले सहजीकरण गरेको राजुले बताए । 

सीमा क्षेत्रमा वन संरक्षण र वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि दुवै देशले बेलाबेलामा संयुक्त बैठकको आयोजना गर्दै आएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update